बराहक्षेत्र,मंसिर १२ मङ्गवार
सुनसरी क्षेत्र नम्बर १ बाट नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) का साझा उम्मेद्वार अशोक कुमार राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई ४५३ मतले पछि पार्दै राई प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् ।
विजयी अशोक कुमार राईले १७ हजार ५९ मत प्राप्त गरेका थिए भने गोमा तामाङले १६ हजार ६०६ मत पाएकी थिइन्।गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बोले १३ हजार ८७ मत पाएका छन् भने राप्रपाका उम्मेद्वार अशोक राई (अविरल)ले ७ हजार ८८४ मत पाएका छन् । स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले ७ हजार ८१२, तर्कबहादुर मगरले ३ हजार ८१८ पाएका छन् । सुनसरी १ मा कुल ७८ हजार ९११ हजार मत खसेकोमा ७३ हजार २१ मत सदर भएको थियो भने ५ हजार ८९० मत वदर सुनसरी १ प्रदेश सभा सदस्यमा भने नेकपा एमालेकै क तर्फ रमेश कुमार बस्नेत र ख तर्फ विजय कुमार राई विजयी भएका छन्। यसपटकको निर्वाचनमा नेकपा एमालेले जसपाका नेता अशोक कुमार राईलाई समर्थन गरेको थियो । राई १० वर्षअघि नेकपा एमाले छाडेर तत्कालीन संघीय समाजवादी फोरममा लागेका थिए ।
पहिचानको मुद्दामा फरक मत राखेर २०६९ मा उनले नेकपा एमाले छाडेका थिए । त्यतिबेला उनी नेकपा एमालेको उपाध्यक्ष थिए । एमाले छाडेर तत्कालीन संघीय समाजवादी पार्टी गठन गरेका राई २०७० सालमा संविधानसभामा समानुपातिक तर्फबाट निर्वाचित भएका थिए । ०७४ मा नेपाली कांग्रेससँगको गठबन्धनबाट उम्मेदवार भएका उनी आफ्नै राजनीतिक चेला जयकुमार राईसँग पराजित भएका थिए ।