गणेश थापा, क्यालिफोर्निया, १ कात्तिक २०७९
आफूलाई निकै स्मार्ट ठान्ने गायक राजेश पायल राईले फेरि एक पटक विदेशीभूमिमा असभ्य व्यवहार प्रदर्शन गरेका छन ।
नेपालीहरूको महत्वपूर्ण चाडपर्व दशैं तिहारको अवसर पारेर संयुक्त राज्य अमेरिकाको ऐतिहासिक राज्य पेन्सिलभेनियामा सोमबार सॉझ आयोजित सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिने क्रममा गायक राईले माइक फाल्नेदेखि पोडियममाथि लात्तले हान्नेसम्मको हर्कत गरेका छन् ।
आयोजकले साउण्ड सिस्टम आफूअनुकूलको ब्यवस्था नगरेको भन्दै उनले यस किसिमको उपद्रो मच्याएको बताइएको छ । उनले भनेअनुसारको ठूलो भल्युम गर्ने हो भने ध्वनि प्रदूषण गरेको अभियोगमा प्रहरीको कारवाहीमा पर्ने आयोजकको भनाई छ ।
पेन्सिलभेनियास्थित नेपाली समाजले ख्याति प्राप्त कलाकारहरूलाई बोलाएर मनोरन्जन दिने उद्देश्यले गरिएको सो कार्यक्रममा गायक राईले प्रदर्शन गरेको सन्नकीपनबाट उपस्थित सयौं दर्शकको मन कुडिएको छ ।
बारम्बार विवादमा आइरहने गायक राईले यसअघि न्यूयोर्कमा भएको
कार्यक्रममा पनि यस्तै लफडागिरी गरेका थिए ।