सुनसरीको बराहक्षेत्र नगरपालिकामा मतगणना स्थगित भएको एक घण्टा बिती सक्दा पनि अझै मत गणना शूरु हुन् सकेको छैन / स्थगित भएको आक्रोसमा सर्वसाधारणबाट गेटमा नारा बाजी सुरु भएको छ ।
निर्वाचन अधिकृत परिवर्तन गर, सरकारी हैकम चलदैन, निष्पक्ष मतगणना गरियोस जनताले दिएको मतको कदर होस्, परमादेशको नियम चल्दैन भन्दै नारा बाजी गरेका थिए ।
वडा नम्बर १ को १ हजार ७ सय मत गणना भइरहेको बेला मेयरको स्थानमा हसिया हथौडा चुनाव चिन्हमा मतदाताले स्वस्तिक छाप लगाएको भोट पनि गठबन्धन दल कांग्रेसका उम्मेदवार रमेश कार्कीको नाममै गणना गर्नु पर्ने अडान लिदै गठबनधनले माग राखेपछि मतगणना स्थगित भएको हो ।
बराहक्षेत्रमा गठबन्धन दलका तर्फबाट मेयरमा कांग्रेसका रमेश कार्की र उपमेयरमा माओवादी केन्द्रका अमित गौतम उम्मेदवार छन् । माओवादी केन्द्रले मेयरमा उम्मेदवार नै नउठाएको अवस्थामा मतपत्रमा मेयरको स्थानमा रहेको हसिया हथौडामा पनि मतदाताले छाप लगाएकाले उक्त मतलाई पनि गठबन्धनको मेयरको नाममा गणना गर्नुपर्ने माग भएकाले विवाद भएको हो ।मतदान स्थगित भएपछी स्थानीयले मतगणना स्थल अघि नारा बाजी गरेका हुन् ।
पछिल्लो परिणामअनुसार एमाले उम्मेदवार निलम खनालले ६७८, गठबन्धन दल कांग्रेसका रमेश कार्कीले ५७२, स्वतन्त्र रामबहादुर विष्टले ११५ मत ल्याएका छन् । उपमेयरमा एमालेका नन्दकुमारी सुनुवारले ७११, गठबन्धन माओवादी केन्द्रका अमित गौतमले २५६ मत प्राप्त गरेका छन् । विवाद समाधानका लागि दुवै पक्षवीच छलफल गर्ने तयारी भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।