जिल्लाअनुसार फरक मतपत्र हुने, ०७४ मा सबैभन्दा धेरै ६८ लहरसम्मको मतपत्र प्रयोगमा
स्थानीय तहको निर्वाचनमा जिल्लाअनुसार फरक मतपत्र हुने भएको छ । जिल्लामा भाग लिने दलको यकिन विवरण आइसकेकाले फरक–फरक मतपत छपाइ भइरहेको निर्वाचन आयोगले जनाएको छ । अघिल्लो पटक ६ प्रकारको मतपत्र भए पनि यसपालि लहरको हिसाबले देशभर २३ प्रकारको मतपत्र हुनेछ । सबैभन्दा बढी काठमाडौंमा ५६ लहर ( माथिबाट ) तल हुने भएको छ ।
दलहरूको ४६ र स्वतन्त्र उम्मेदवारको १० वटा चिह्न रहेको मतपत्र छापिनेछ । निर्वाचन आयोगको बुधबारको बैठकले मतपत्रमा रहने चिह्न टुंग्याएर बिहीबारदेखि छपाइ सुरु गरेको हो । वैशाख २० सम्म मतपत्र छपाइ कार्य सकिने आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए । आयोगले जिल्लागत रूपमा निर्वाचनमा भाग लिने दल र स्वतन्त्र उम्मेदवारको अनुमानित आकडा तयार गरी छपाइ थालेको हो । ०७४ को निर्वाचनमा सबैभन्दा कम ८ लहर मात्रै थियो, यसपालि १७ लहर भएको सबैभन्दा सानो मतपत्र हुनेछ । ०७४ मा सबैभन्दा धेरै ६८ लहरसम्मको मतपत्र प्रयोगमा ल्याइएको थियो ।
काठमाडौंको मतपत्र सबैभन्दा ठूलो हुने आयोगले जनाएको छ । काठमाडौंमा राष्ट्रिय मान्यता प्राप्त ६ वटा र साना ४० वटा दल सहभागी हुनेछन् । दलको चिह्नबाट ४६ र स्वतन्त्र बढीमा १० जना हुन सक्ने आयोगले अनुमान गरेको छ । सबैभन्दा सानो मतपत्र मनाङ र मुस्ताङको हुनेछ । यी दुई जिल्लामा साना पार्टी ५र५ वटा मात्रै छन् । काठमाडौंपछि मोरङको मतपत्र ठूलो हुनेछ । मोरङमा दलको चिह्नबाट ३९ दलका उम्मेदवार प्रतिस्पर्धामा हुनेछन् । सुनसरी र रूपन्देहीमा ३८ दलका, ललितपुरमा ३७, झापा र रौटहटबाट ३७ दलका उम्मेदवार दलको चिह्नबाट सहभागी हुनेछन् ।
वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि करिब २ करोडको संख्यामा मतपत्र छपाइको तयारी छ । विगतमा मतदाता संख्याको १५ प्रतिशतसम्म बढी मतपत्र छपाइ हुने गरेकामा यस पटक आयोगले १० प्रतिशतमात्र बढी मतपत्र छपाउन लागेको छ । कतिपय जिल्लामा हेलिकोप्टरबाट ढुवानी गर्नुपर्ने भएकाले पहिले दुर्गम क्षेत्रका लागि मतपत्र छपाइ हुने प्रवक्ता पौडेलले बताए । मतपत्र सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा नेपाली सेनाको सुरक्षा व्यवस्थापनमा छपाइ कार्य सुरु भएको छ । छपाइको निरीक्षण गर्न आयोगका पदाधिकारीहरू बिहीबार केन्द्रमा निरीक्षणका लागि गएका थिए । मापदण्डअनुरुप छपाइ भयोरभएन भनी यकिन गर्न तीन दिनसम्म परीक्षण छपाइ हुने पौडेलले जानकारी दिए ।
यस्तै, सबै मतगणना स्थलमा सीसीटीभी क्यामरा जडान हुने आयोगले जनाएको छ । सीसीटीभी स्थानीय तहले राख्नेछ भने आयोगले मनिटरिङ गर्नेछ । कान्तिपुर बाट साभार गरिएको