फाल्गुन १९, सुमन बिकल, बराहक्षेत्र
बराहक्षेत्रमा आज शेर्पा समुदायले ग्याल्पो ल्होछार–२१४९ औं (नयाँ वर्ष) मनाएका छन् । आजबाट बाँदर वर्ष पूरा भई चरा वर्ष लागेको छ । ग्याल्पो ल्होछारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको हो ।
भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ । आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी मनाइन्छ ।
आज नेपाल शेर्पा संघ बराहक्षेत्र नगर कमिटीले बराहक्षेत्रमा रहेको कोशी बगरको एक रिसोर्टमा भब्य कार्यक्रम गरि ग्याल्पो ल्होसार मनाएको छ । शेर्पा संघका नगर अध्यक्ष दोर्ची शेर्पाको सभाध्यक्षता र बराहक्षेत्र नगरपालिकाकि उपप्रमुख कमला मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा शेर्पा संघका केन्द्रीय सदस्य मिसन शेर्पा, तामाङ घेदुङ बराहक्षेत्रका अध्यक्ष तिलक तामाङ , बराहक्षेत्र ७ नम्बर वडाका वडा अध्यक्ष वीरबहादुर लिम्बू , प्रेस चौतारीका हरिबहादुर (किसन) बस्नेत , इप्रका प्रतिनिधि देबराज बिष्ट लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्यका क्रममा बोल्दै उपमेयरले यस्ता कार्यक्रमबाट नयाँ पीडिले आफ्नो संस्कार संस्कृति सिक्ने बताउनु भएको छ ।
साथै सबैलाई नेपालको संविधानको भाग ३ को धारा २६ मा धार्मिक स्वतन्त्रताको हक भएको हुनाले यस्ता चाडवाड सबैले मनाउन आग्रह समेत गर्नु भयो । त्यसैगरी शेर्पा जातीमात्र एउटा तेस्तो जनजाति हो जो विश्वभरीनै परिचीत छ , सगरमाथा भन्ने बित्तिकै शेर्पा जोडीने पनि उपमेयरले बताउनु भएको छ । यस्ता कार्यक्रमका लागि नगरबाट बजेट समेत बिनियोजित हुने र सबै जातजातिका लागि नगरले लोकसेवा तयारीका कक्षा र कम्प्युटर कक्षा समेत संचालन गरेको कुरा बताउनु भयो । नेपाल शेर्पा संघ साबिक महेन्द्रनगरका अध्यक्ष पेम्बा शेर्पाका अनुसार शेर्पाहरुको थाकथलो सोलुखुम्बु रहेको र हाल बराहक्षेत्रमा लगभग ६०/६२ घर शेर्पा परिवार रहेको बताउनु भएको छ । केन्द्रिय सदस्य मिसन शेर्पाका अनुसार प्रदेशको नाम शेर्पालुङ राख्न समेत प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाईसकेको बताउनु भएको छ ।