वराहअनलाइ, – कोरोना महामारीका बेला श्रमजीवि पत्रकारहरुका लागि नेपाल प्रेस यनियनले सुनसरीमा उदाहरणिय कार्य गरेकोमा सोमवार आयोजित कार्यक्रममा सहभागी सबैले प्रशंसा गरेका छन् ।
जिल्लाका सञ्चारकर्मीहरुको हितका लागि कोरोना महामारीका विच युनियनले आफ्नै खर्चमा अग्रिम कोराना कोराना विमा गराएको, सुरक्षा सामाग्री, खाद्यान्न राहत वितरण गरेको कार्यका उच्च मुल्याङकन गर्दै उनिहरुले युनियनको प्रशंसा गरेका हुन् । सुनसरीमा युनियनले कोरोना बिमा गरेका कोरोना पीडित ९ जना सञ्चारकर्मीहरु लाई १÷१ लाख रुपयाको उनिहरुका बिमा रकम हस्तान्तरण गर्ने कार्यक्रममा पत्रकार महासंघका उपसभापति सन्तोष काफ्ले भने ‘युनियनले समयमा नै कोरोना बिमा गरेर पत्रकारका हितका लागि उदाहरणिय कार्य गरेको छ ।’ यस्को लागि युनियनका सुनसरी जिल्ला सभापति पवन अधिकारीको सकृयता विशेष उल्लेख निय भएको उनले बताए । पत्रकार महासंघका पूर्व सभापति राजेश विद्रोहीले युनियनले सुनसरीका पत्रकारहरुको कोरोना बिमा गराउने अग्रसरता लिएकाले अहिले कोरोना पीडित भएका पत्रकारहरु लाई ठूलो राहतको काम गरेको बताए । उनले भने ‘श्रमजीवि पत्रकारहरुको संगठनहरुले उनिहरुको हितका लागि गर्नुपर्ने कार्यको उदाहरण प्रेस युनियनले दिएकाले आगामी दिनमा यस्तै कार्यको अनुसरण गर्न जरुरी छ ।’मिडिया उद्यमी औजार पत्रिकाका सञ्चालक मोतीराज सुनुवारले सुनसरीमा धेरै मिडिया हाउसहरु भएपनि कोरोना महामारीका बेला श्रमजीवि पत्रकारको हितका लागि कोरोना बिमा गराउने काममा कसैले चासो नराखेको बताउँदै भने ‘त्यस्तो महामारीका बेला प्रेस युनियनले भने पत्रकारहरुको चिन्ता लिँदै आफ्नै श्रोत साधनबाट बिमा गराएर पत्रकारहरु लाई ठूलो गुण लगाएको छ ।’ उनले युनियनले सबै विचारका पत्रकारहरु लाई बिमामा समावेश गराएको कार्यको जतिसुकै प्रशंसा गरेपनि कम हुने बताए ।
ब्लाष्ट दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठले कोरोनाको जोखिमको चुनौती सामना गर्दै देशभरीका पत्रकारहरु कामगर्न बाध्य भएको बेला सुनसरीमा बिमा गराउने काम गरेर युनियनले अहंम भूमिका खेलेको बताए । उनले भने ‘यो काम देशभरका पत्रकारहरुका लागि पत्रकार महासंघले अग्रसरता लिनु पर्दथ्यो तर त्यसो हुन नसकेपनि सुनसरीका पीडित पत्रकारहरु लाई बिमामा समावेश गराएर युनियनले ठूलो राहत प्रदान गर्ने काम गरेको छ ।’अग्रज पत्रकार सुनसरीमा युनियनका संस्थापक गिरिराज आचार्यले प्रेस युनियन वास्तविक रुपमा श्रमजीवि पत्रकारहरुको संगठन भएको कुरा कोरोना महामारीमा उनिहरुको हितका लागि बिमा गराएर देखाएको बताए । लोकतन्त्र, प्रेस स्वतन्त्रताको रगाका लागि श्रमजीवि पत्रकारहरुको भूमिका महत्वपूर्ण भएपनि उनिहरुले श्रमको मुल्य नपाइरहेको, सुरक्षाको प्रत्याभूति नभएको बताउँदै उनले भने ‘श्रमजीवि पत्रकारको हक, हितका लागि युनियनले खेलेको भूमिका उल्लेखनिय छ ।’पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष, युनियनका पूर्व केन्द्रिय सदस्य हर्ष सुब्बाले कोरोना महामारीको हाहाकार भैरहेको बेला ठूला मिडिया हाउसले श्रमजीवि पत्रकारहरु लाई निस्काशन गरेको, कोरोनाको चुनौतीको सामना गर्दै फिल्डमा काम गरेका पत्रकारहरुको तलब सुविधा नदिएको बेला सुनसरीमा युनियनले पत्रकारहरुको बिमा गराएर उल्लेखनिय उदाहरण दिएको बताए । उनले भने ‘कोरोना चुनौती र अवसर दुवै हो भनेर जनताको आत्मबल बढाउने काम गर्ने पत्रकारहरुले भने चुनौती सामना मात्र गर्दै आए, मिडिया हाउसका मालिकका लागि भने पत्रकारलाई तलब–सुविधा बाट बञ्चित गर्ने, कामबाटै निकाल्ने अवसर बन्यो ।’
युनियनका सुनसरी जिल्ला सभापति पवन अधिकारीले कोरोना महामारीकै विच आफुले सभापतिको पदभार ग्रहण गरेको अवस्थामा चुनौतीपूर्ण काम गर्ने अठोटका साथ पत्रकारहरुको बिमा गराउने निश्चय गरी अघि बढेको बताए । उनले भने ‘यसमा सबै संगठनमा आवद्ध पत्रकारहरुले मलाई साथ दिनु भयो, मेरो लागि यो ठूलो सफलताको विषय बनेको ठानेको छु ।’ कोरोना बिमामा युनियनले सम्पूर्ण पत्रकारको हित हेरेर काम गरेको बताउँदै भविष्यमा पनि पत्रकारहितका लागि गर्ने कार्यमा सबैले साथ दिन उनले विश्वास व्यक्त गरे । सभापति अधिकारीले युनियनले चाँडै नै प्रत्येक पत्रकारको भविष्यको सुरक्षाका लागि ५ लाख रुपयाको बिमा गराउन पहल थालिने बताए । महासंघले सूचना विभागको कार्डवालाको मात्र बिमा सम्भव हुने बताएपनि युनियनले पत्रकार कार्यरत सञ्चार संस्थाको परिचयपत्रका आधारमा बिमा हुनुपर्ने कुराको पहल थालेको उनको भनाई थियो । उनले भने ‘झन्झटिलो नियम, कानुनका कारण धेरै पत्रकारको सूचना विभागको कार्ड नविकरण भैरहेको छैन्, यस्तो अवस्थामा सञ्चार संस्थाकै परिचयपत्रको आधारमा बिमामा सहभागी गराउने पहलमा लागेको छु ।’
कार्यक्रममा बिमा गरिएका कोरोना पीडित धरान, इटहरी लगायतका कोराना पीडित सञ्चारकर्मीहरुको बिमा रकमको चेक हस्तान्तरण गरिएको थियो । यसअघि दशैंको बेला युनियनले सापटी रकम लिएर पत्रकारहरु लाई बिमा रकममा कट्टा हुने गरी १०÷१० हजार रुपया पीडितहरु लाई अग्रिम प्रदान गरेको थियो । उक्त रकम कटाएर ९०÷९० हजार रुपयाको चेक वितरण गरिएको हो । बिमा रकमको चेक बुझिलीनेहरुमा निर्मल कार्की, सन्तोष काफ्ले, दामोदर गुरागाई, रोशन दाहाल, विमला तिम्सीना, कृष्णप्रसाद अधिकारी, शिशिर राई, संजीता धमला र भारतराज शर्मा(गोपाल) छन् । यसअघि युनियनले इटहरीमा आयोजित कार्यक्रमका विच ७ जना पीडित पत्रकार लाई बिमा रकम प्रदान गरेको थियो ।